हेटौंडा सिमेन्ट निजीकरण नगर्न माओवादी केन्द्रको माग

मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुरले सरकारी उद्योग निजीकरण नगर्न सरकार समक्ष माग गरेको छ ।
बिहीबार नेकपा (माओवादी केन्द्र) मकवानपुरले मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठमार्फत नेपाल सरकारले २०८२ बैशाख १५ गते मकवानपुर जिल्लामा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड लगायत केही सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णय गरेकोमा उक्त निर्णय अनुसार सरकारी उद्योगहरु निजीकरण नगर्न र बन्द अवस्थामा रहेका हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको मागसहित नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेकपा (माओवादी केन्द्र) मकवानपुरको नेतृत्वमा हेटौंडाको मानस चोकबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
र्यालीमा ‘हेटौंडा सिमेन्टलाई निजीकरण गर्न पाईदैन’, ‘सरकारी उद्योग बचाउ, सुशासन कायम गरौं’ जस्ता प्लेकार्ड र नारासहित नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
ध्यानाकर्षण पत्रमा एकातिर बन्द अवस्थामा रहेका हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको माग र पहल भईरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग लगायत सरकारी उद्योगहरुको निजीकरणको प्रयत्न खेदजनक भएको र वर्तमान सरकार राष्ट्रको हितमा भन्दापनि ब्यापारीकोे हितमा सक्रिय भएको उल्लेख छ ।
सरकारको उद्योगहरुको निजीकरणको निर्णयको भत्र्सना गर्दै हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधार सहित नियमित र ब्यवस्थित सञ्चालन गर्न ध्यानाकर्षण पत्र माग गरिएको छ ।
वि.सं. २०३२ सालमा स्थापना भई २०४४ सालदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड ब्यवस्थापनको चरम लापरवाही र कमिसनमुखी प्रबृत्तिको कारण जर्जर अवस्थामा पुगेको माओवादी केन्द्रको आरोप रहेको छ ।
ध्यानाकर्षण पत्रमा निजी उद्योगहरुले एकतर्फीे सिमेन्टको मूल्य प्रति बोरा दुई सय रुपैंया भन्दा बढी बढाउँदा समेत सरकार मुकदर्शक बनेको उल्लेख छ ।
भएका सरकारी उद्योगहरुलाई बन्द गराउने र निजीकरण गर्न खोज्नु सरकारको निजी क्षेत्रप्रतिको मोह प्रष्ट भएको र यो समाजवाद उन्मुख राज्य प्रणालीको बाटो नभएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईञ्चार्ज बिजय गौतमले बताए ।
र्यालीमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी सचिवालय सदस्य विवेक राई, जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीर बहादुर घलान ‘ज्वाला’, हेटौंडा उपमहानगर अध्यक्ष प्रदिप अर्याल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, वाईसियल मकवानपुर अध्यक्ष बीर बहादुर थिङ ‘मुक्ती’ लगायल नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जतिसक्दो छिटो ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय पु¥याउने प्रतिबद्धता ब्यक्त गरिन्। बैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले हेटौंडा सिमेन्ट उद्योग संगै जनकपुर चुरोट कारखाना, गोरखकाली रवर उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, आरियन्ड म्यागनेसाईटलाई निजीकरण गर्ने निर्णय गरेको थियो ।