जैविक मल प्रयोगमा कृषि मन्त्री श्रेष्ठको जोड

बागमती संवाददाता
२३ बैशाख २०८२, मंगलवार १५:३४

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बढ्दो विषाक्तयुक्त रासायनिक मलको प्रयोगले खेतीबाली तरकारी खान योग्य नभएकाले किसानले जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक योजना तर्जूमा गोष्ठी कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

बागमती प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा आयातित विषादी मलको प्रयोगलाई न्युनिकरण गर्दै प्राङ्गारिक मलको प्रयोगमा जोड दिने खालका योजना समेट्ने उहाँले बताउनुभयो ।

रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोग गर्ने सिकानसहितका पालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिने उहाँले बताउनुभयोे । ‘बागमती सरकारले आगामी आर्थिक वर्षमा प्राङ्गारिक मल प्रोत्साहन अनुदान कार्यक्रम आयोजना गर्छ । हरेक जिल्लाले प्राङ्गारिक मल बनाउन सुरु गर्ने हो भने बागमती सरकारले त्यसमा बजेट विनियोजन गरी प्रोत्साहनमा जोड दिन्छ । त्यसमा प्रत्येक जिल्लाका मेयरले चासो देखाउनु आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

उहाँले जैविक मल उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आयात हुने विषदीयुक्त रासायनिक मलको रोकावट गरेर अगाडी बढदा देशको जैविक खेतीले ठुलो लाभ लिने दावी गर्नुभयो ।

उहाँले दैनिक उपभोग गरिने बजारमा उपलब्ध तरकारीको गुणस्तर जाँचका लागि आवश्यक प्रविधि भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

दैनिक विषादीयुक्त खाद्यान्न उपभोगले नागरिकको स्वास्थ्यमा गम्भीर प्रभाव परिरहेकाले यसप्रति सबै उत्तरदायी हुनुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*