हेटौंडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, खोजि कार्य जारी

बागमती संवाददाता
२० बैशाख २०८२, शनिबार १७:००

मकवानपुर । हेटौंडामा (हिजो) शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्याललका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा भासिएको सडकमा ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हो ।

उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए ।

गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएको प्रवक्ता अर्यालले बताए ।

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

भासिएको गाडी पानीले गर्दा नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*