जनतालाई आभाष हुनेगरी सामाजिक, आर्थिक परिवर्तन हुनु जरुरी छः पूर्व राष्ट्रपति भण्डारी

मकवानपुर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताले महशुस गर्नेगरी सामाजिक र आर्थिक परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरको चौथो साधारण सभामा प्रमुख अतिथिको रुपमा हेटौंडा आउनुभएकी संस्थापक अध्यक्ष भण्डारीले देशमा राजनीति प्रणाली र संविधान बदलिएतापनि जनताले अझैपनि समाज परिवर्तनको बाटो खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले जननेता मदन भण्डारीको मार्गनिर्देशनले राजनीतिमा ठुलो भूमिका खेलिरहेको बताउनुभयो । ‘ जननेता मदन भण्डारीले सामाजिक रुपान्तरण, लोकतन्त्र राष्ट्रियताका लागि खेल्नु भएका भूमिकालाई चिर स्थायी बनाउन उहाँको काम र अनुभवबाट भावी पुस्तालाई प्रेरित गर्न तथा समाजको सकारात्मक रुपान्तरणमा ठोस योगदान गर्न फाउण्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ’ उहाँले भन्नुभयो ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका मौलिक अभ्यास र अनुभव समेतका आधारमा मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शकिय सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जनताको जनवादले नेपाली समाजको यर्थाथ, इतिहास, सँस्कृति, वर्ग संरचना, भूगोल र राजनीतिक चेतनालाई ध्यानमा राख्दै नेपालीे सन्र्दभमा माक्सवादको व्याख्या गर्याे र कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक मार्ग तर्फ उन्मुख गरायो । यसले नेपाली जनताको सक्रिय सहभागिता, बहुदलीय प्रतिष्पर्धा खुल्ला लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्दै समाजवादको दिशातर्फ जाने बाटो देखाएको छ । ’ उहाँले भन्नुभयो ।
नेपालमा कम्युनिष्ट आन्दोलन निरकुंश शासनको विरोध र राष्ट्रियताको रक्षा गर्ने लोकतान्त्रिक अभियानको रुपमा विकास भएको र सोहि ऐतिहासिक विशेषताको कारण बहुदलीय जनवाद लोकतन्त्रप्रति स्पष्टता र प्रतिबद्धतासहित अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘जबजले राजनितिक प्रतिष्पर्धामार्फत जनताको अनुमोदन गर्ने प्रणलीलाई स्वीकार गरेको छ, मान्यता दिएको छ । यसले वर्गीय विविधतायुक्त समाजमा जनताको हितमा काम गर्ने र सबै जनतासँग जोडिएको राजनीति दलमात्र शासनमा पुग्नसक्ने मान्यता राख्दछ । त्यसैले जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गर्ने राजनीतिक दल र त्यसका कार्यकर्ताहरुले यसको सारलाई गर्व गरी समातेर जनताको सेवामा अग्रसर हुनुपर्छ ।’