बागमतीमा मन्त्रीहरुबीच समीक्षा बैठक

बागमती संवाददाता
१७ बैशाख २०८२, बुधबार ११:५६

मकवानपुर। बागमती प्रदेशका विभिन्न विभागीय मन्त्रीहरुले कार्य समीक्षा बैठकमा भाग लिनुभएको छ ।

मुख्यतया यसअघि प्रदेशका मन्त्रालयहरुमा बजेट सीमा तोकिएको विषयमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका १४ मन्त्रालयका मन्त्रीहरुले समीक्षा बैठक अन्र्तगत छलफल गर्नुभएको हो ।

समीक्षा बैठकमा हालसम्म प्रदेश सरकारले सम्पादन गरेका काम कारबाहि, आगामी निति योजना, मन्त्रालयगत प्रगति र मुख्यतया बजेट सीमाका विषयमा छलफल गरिएको मन्त्रीहरुले बताउनुभएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेका अनुसार विभागिय मन्त्रालयहरुको कार्य प्रगति र समस्याका विषय बैठकमा छलफल गरिएको छ । आगामी आर्थिक वर्षको बजेटको तालमेलको विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । ‘अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई आर्थिक प्रगति विवरण उपलब्ध गराउन निर्देशनात्मक भूमिका खेलेको छ । साथै राजस्व चुहावटको विषयलाई लिएर विज्ञ समितिको प्रतिवेदनमाथि समीक्षा भएको छ । त्यसोत, मन्त्रीहरुको समस्या छलफल गर्ने कामहरु आजको बैठकमा भएको छ ।’ उहाँले भन्नुभयो ।

यता बागमती प्रदेश नेकपा एमाले संसदीय दलका उपनेता मधुसुदन पौडेलले प्रदेशका मन्त्रालयमा भएका काम प्रगति समीक्षा त्यति निराशाजनक नरहेकोे बताउनुभएको छ । ‘ बैठकमा गत असोजमा घटेको विपद् उद्धार कार्यमा सरकारको उपस्थिति भएन र सरकारले त्यसमा सन्तोषजनक भूमिका निर्वाह गर्न सकेन भन्ने टिकाटिप्पणी उठ्यो । ’ उहाँले भन्नुभयो ।

यता नेपाली काग्रेंस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले अन्य तुलनामा सरकारको भौतिक विकासमा प्रगति देखिएकोे बताउनुभयो । उहाँले भन्नुभयो ‘ बागमती प्रदेश सरकारको बजेट रकम हरेक आर्थिक वर्षमा घटिरहेको छ । सोहि विषयमा केन्द्रित रहेर आगामी बजेटलाई कसरी बढावा दिने भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले लक्ष्य अनुरुपको राजस्व रकम उठाउन कसरी पहलकदमी चाल्नसक्छ भन्ने विषयमा छलफल भएको छ ।’

झण्डै ३ घण्टा लामो गरी सकिएको समीक्षा बैठकले चालू आर्थिक वर्षको चैत सम्ममा बागमतीमा सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्श निस्किएको मन्त्रीहरुले बताउनुभएको छ ।

यसअघि गत पुषमा मन्त्रीहरु समीक्षा बैठकमा जुट्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*