हेटौंडामा अनुपम स्मृति नगर स्तरीय फुटबल प्रतियोगिता हुँदै

बागमती संवाददाता
२५ माघ २०८१, शुक्रबार १५:४१

मकवानपुर । हेटौंडामा गत असोज १२ र १३ गते मकवानपुरको सिस्नेरिमा गएको पहिरोमा परि ज्यान गुमाएका फुटबल प्रशिक्षण अनुपम घलानको स्मृतिमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

घलानको स्मृतिमा हेटौंडा उपमहनगरपालिका खेलकुद विकास समितिले १६ वर्ष मुनिका खेलाडिका टिमहरुबीच (under 16) प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आगामी फाल्गुन ७ गतेदेखि हेटौंडा–५ क्याम्पा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

खेललाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने गरी यसवर्षबाट सुरुवात गरिएको समितिका अध्यक्ष रविन्द्र घिमिरेले बताएका छन् ।

खेलमा १९ वटै वडाका इच्छुक खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । वडाबाट सिफारिस भई आएका, १६ वर्ष ननाघेका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । सहभागि हुन चाहने टिमले फाल्गुन ४ गतेभित्रमा नगरपालिकाको नगर खेलकुद विकास समितिमा टिम दर्ता गराउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र द्वितिय हुने टिमले ७० हजार रुपैँया राशीको पुरस्कार हात पार्नेछ ।

त्यस्तै विधागत पुरस्कारतर्फ सर्वाेतकृष्ट खेलाडिले ५ हजार, उत्कृष्ट फर्वाडरले १० हजार, उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र उत्कृष्ट डिफेन्सरले ५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

अनुपम घलान स्मृति फुटबल खेल सञ्चालनका लागि हेटौंडा उपमहनगरपालिकाले ७ लाख रुपैंया विनियोजन गरेको छ ।

खेलमा अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमानुसार नकआउट प्रतियोगिता हुनेछ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरिमा गत असोज १२ र १३ गते गएको पहिरोले एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वात्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका १२ वर्षिय अनुपम घलानसहित ६ जना खेलाडीहरुको दुःखद निधन भएको थियो ।

शुक्रबार खेलबारे जानकारी दिन आयाजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, सदस्यहरु यज्ञ बहादुर राई र सुनिल लोप्चनको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*