कैलाश गाउँपालिकाको बजेट ४८ करोड ७८ लाख, यस्तो छ नीति तथा कार्यक्रम

मकवानपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि मकवानपुरको कैलाश गाउँपालिकाले ४८ करोड ७८ लाख ६७ हजार रुपैँयाको बजेट ल्याएको छ ।
आज(सोमबार) बसेको गाउँसभाको १४ औं अधिवेशन बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको विवरण पेश गरेका हुन् ।
गाउँपालिकाले आगामी वर्ष उद्योग विकास तर्फ ३१ लाख, कृषि विकास तर्फ ९० लाख ५१ हजार, सिचाँई तर्फ ५७ लाख ३५ हजार, पर्यटन तर्फ ५४ लाख, पशुपन्छी विकास तर्फ २२ लाख ७२ हजार र आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै शिक्षा तर्फ १५ करोड ३२ लाख ८१ हजार, यातायात पूर्वाधार विकास तर्फ ९ करोड ४४ लाख ५० हजार, यूवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार, भाषा तथा संस्कृति प्रर्वद्धनमा १४ लाख ५० हजार, चेली प्रोत्साहन कार्यक्रम तर्फ ४ लाख बजेट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छुट्याएको छ ।
चालु आर्थिक वर्षको तुलनामा गाउँपालिकाको आगामी वर्षको बजेट ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैँयाले घटेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैँयाको बजेट कार्यान्वयन गरिरहेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा नीति तथा कार्यक्रमहरु समावेश गरेको छ ।
प्रदेश सरकार तथा गाउँपालिकाको लागतमा गाउँपालिकाको मूख्य सडक चुनियाबजार–भाल्टार–भार्ताको स्तरोन्नति एवम निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनुका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त सडकको कालोपत्रे तथा सल्याव ढलान गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालकिाको कार्यालय तथा वडा कार्यालय जोड्ने सडक सञ्जालको स्तरोन्नती गरि बारहै महिना यातायात सञ्चानलमा ल्याउने प्रबन्ध मिलाई भारी वर्षा, सुख्खा पहिरो लगाएतका विपदबाट आईपर्नै सडक अवरोध तत्काल हटाई शीघ्र यातायात सेवा सुचारु गर्ने प्रबन्ध मिलाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका तथा विकास साझेदारहरुको सहयोगमा निमार्ण हुने भवन लगाएतका संरचनाहरु अपाङ्गमैत्री, बालमैत्री बनाईने, खानेपानी योजनाहरु निर्माण गरी योजनाको दिगोपना कायम गर्न सम्बन्धित उपभोक्तालाई हस्तान्तरण गर्ने नीति अवलम्बन गरिने, घरमा शौचालय नभएका गरिवर विपन्न तथा सीमान्तकृत वर्गहरुको सहभागितार स्वामित्वमा एक घर एक शैचालय निमार्ण गरि सरसफाई प्रद्र्धदनमा सचेतिकरण गरिने जस्ता योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक, व्यक्तिगत भूमिलाई प्रचलित कानून बमोजिम स्पष्ट र वस्तुनिष्ठ तवरले वर्गीकरण गरी सोको अभिलेख व्यवस्थित बनाईने, मूख्य सडकको क्षेत्राधिकार भित्र एवं अनियन्त्रित र अव्यवस्थित रुपमा निर्माण गरिएका घर तथा टहरा हटाईनुका साथै त्यसरी सडको क्षेत्राधिकार भित्र संरचनाहरुको निर्माण गर्ने कार्यमा नागरिकलाई निरुत्साहित गरिने, गाउँपालिका क्षेत्रभित्र निर्माण गरिने घर टहरा जस्ता संरचनाहरु गाउँपालिकाको स्वीकृत वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम नक्सा पास गराई निर्माण गरिने र निर्माण भैसकेका संरचनाहरुको अभिलेखिकरण गरिने व्यवस्था मिलाईने योजनाहरु गाउँपालिकाले समेटेको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी तथा पर्ती जग्गा एवम् सार्वजनिक जग्गा र सम्पदाहरुको संरक्षण गरी त्यस्ता जग्गा एवम् सम्पदाहरुको अभिलेखलाई व्यवस्थित बनाइने, भूमिको वर्गीकरणलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउन, भूमिको समूचित उपयोग, प्रभावकारी व्यवस्थापन गरी अधिकतम र दिगो लाभ हासिल गर्न भू-उपयोग क्षेत्र वर्गीकरण गरी सो लाई थप व्यवस्थित बनाईने, आधुनिक सभ्यताको मानक नै सुविधायुक्त र व्यवस्थित सहर भएको तथा विकासको यथार्थ स्वरुप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थतालाई बोध गर्दै गाउँपालिकाको कुनै एक वडामा संभाव्यता अध्ययन गरी एकीकृत जग्गा विकाससम्बन्धी कार्यक्रम आगामी आर्थिक वर्षमा प्रारम्भ गर्ने गरी सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिने योजनाहरु गाउँपालिकाले निती तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।
त्यस्तै गाउँपालिकाभित्रका सडकका लागि प्रयोग भएका जग्गा सार्वजनिक हुन बाँकी रहेको र सडकको रुपमा व्यक्तिको जग्गा उपयोग हुँदै आएको तर सो जग्गाको मालपोत कर व्यक्तिले तिर्दै बुझाउँदै आएकोमा सडकको रुपमा प्रयोग भएका त्यस्ता जग्गाहरुको एकीन गरी लगत कट्टा गर्ने व्यवस्था आगामी आर्थिक वर्षदेखि मिलाईने भएको छ ।
कृषि वस्तु उत्पादनको बजारीकरण तथा उपभोक्तालाई सुपथ मूल्यमा कृषि उपज उपलब्ध गराउन मासिक हाटबजार सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था मिलाईने, गाउँपालिका क्षेत्रभित्रका विभिन्न वडाहरुका जमिनमा गर्न सकिने खेतीको सम्भाव्यता अध्ययन गरी कृषि पकेट क्षेत्रको रुपमा विकास गरिदै लगिने,गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुले पालेको पशुधनबाट हुने नोक्सानीलाई कम गर्न पशु वीमामा अनुदानको व्यवस्था गरिने, गाउँपालिकाका विपन्न र बेरोजगार युवाहरुलाई लक्षित गरी लघुउद्यम कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्ने कार्यलाई प्रोत्साहन गरिने, गाउँपालिकाको रोजगार सेवा केन्द्रमा बेरोजगार सूचीमा दर्ता भएका बेरोजगारहरुलाई आफ्नो कृषि खेतीमा असर नपर्ने गरी प्रधानमन्त्री रोजगार अन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालन गरी न्यूनतम १०० दिनको रोजगारको प्रवन्ध मिलाईने भएको छ ।
मौलिक ज्ञान र प्रविधिको संरक्षण र सम्वर्द्धन गरी कृषकलाई अग्र्यानिक खेतीतर्फ आकर्षित गरिने, साथै खेती प्रणालीमा सामयिक सुधार गर्ने क्रममा हाते ट्रयाक्टरको प्रयोगलाई निरन्तरता दिइने, गाउँपालिकाको वडा नं. २ स्थित निर्माणाधीन जिपलाईनको निर्माण कार्य सम्पन्न पश्चात सो जिपलाईन र डाँफे मुनाल पार्कको उचित व्यवस्थापन गरी त्यस क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटन हबको रुपमा विकास र विस्तार गरिने, वैदेशिक रोजगारबाट स्वदेश फर्केका यूवाहरुले विदेशमा आर्जन गरेका पूँजी, प्रविधि, सीप, अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले यूवाहरुलाई उत्प्रेरित गरी कृषि लगायतका व्यवसायमा आकर्षण गर्न रिटनी उद्यमशीलता कार्यक्रम का लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने नीति अवलम्बन गरिने भएको छ ।
कैलाश गाउँपालिका स्थायी ठेगाना भएका वा स्थायी बसोवास गर्ने गरिव, जेहेन्दार, सीमान्तकृत, अल्पसंख्यक, प्राविधिक छोरी बुहारी, दलित तथा अपाङ्गता भएका विद्यार्थीहरुका लागि गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्तिलाई एकीकृत रुपमा व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गबाट लक्षित वर्गसम्म पुर्याउनुका साथै गाउँपालिकाको जेहेन्दार एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई उचित आर्थिक सहायता सहितको छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिईने, गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा आधारभूत प्राथमिक स्वास्थ्य सामाग्री व्यवस्थापनको सुनिश्चितता गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
भौतिक पूर्वाधारको अवस्था नाजुक रहेका सामुदायिक विद्यालयहरुको पहिचान गरी आवश्यक भौतिक पूर्वाधार निर्माण, घेरावार, फर्निचर व्यवस्थापन लगायतका कार्यलाई प्राथमिकता दिइने, खेलकुद क्षेत्रको विकास र विस्तार गरी स्थानीय खेलकुद प्रेमी युवाहरुलाई जिल्ला तथा राष्ट्रियस्तरको खेलाडी निर्माणमा टेवा पुर्याउने उद्देश्यले विगत देखि आयोजना गरिदै आएको अध्यक्ष कप फुलवल तथा उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाई सञ्चालन गरिने, गाउँपालिकाका विभिन्न स्थानहरुमा परापूर्वकाल देखि प्रदर्शन गरिदै आएको ऐतिहासिक मेलाहरुको संरक्षण र प्रवर्द्धनमा जोड दिईने भएको छ ।
अल्पसंख्यक तथा सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र विकासका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने, आर्थिक रुपले विपन्न नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन तथा उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउन अध्यक्षसँग विपन्न कार्यक्रमलाई आगामी आर्थिक वर्षमा थप सुदृढ बनाई कार्यान्वयनमा ल्याईने, ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत आर्थिक रुपमा विपन्न र निश्चित उमेर पुगेका ज्येष्ठ नागरिकहरुको पहिचान गरी गाउँपालिकाले जाडो मौसममा न्यानो कपडा तथा पौष्टिक खाद्य वस्तु प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
निर्माणाधीन १० वेडको अस्पताललाई प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाईने, आगामी आर्थिक वर्षमा सम्भव भएसम्म अस्पतालका लागि आवश्यक यन्त्र उपकरण, दरबन्दी बमोजिम चिकित्सक तथा अन्य स्वास्थ्य कर्मचारीको व्यवस्थापन गरी अस्पताल सञ्चालनमा ल्याउन प्रयत्न गरिने, गाउँपालिकाका स्थायी वसोवास गर्ने नागरिकहरु विरामी पर्दा उपचारको लागि अस्पताल लैजान न्यूनतम शुल्कमा गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाईनुका साथै गर्भवती महिलाहरुलाई निजहरुको वासस्थानबाट वडाको स्वास्थ्य चौकी वा गाउँपालिकाको अस्पतालसम्म सुत्केरी गराउन आउन जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, बाक्लो वस्ती तथा बजार क्षेत्रमा उत्सर्जन हुने फोहरमैलाको व्यवस्थापन गरी स्वच्छ वस्ती, समाज निर्माणमा सरोकार पक्ष एवं नागरिकहरुलाई सघसंस्थासँगको समन्वयमा ससचेतीकरण गरिने, गाउँपालिकाबाट प्रदान गरिने सेवा, कार्यान्वयन गर्नुपर्ने विकास योजनाहरु तथा प्राथमिकता दिनुपर्ने क्षेत्रलाई बोधगम्य, दिगो विकासमैत्री र वस्तुगत बनाईने निती तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकावाट प्रदान गरिने सेवा प्रवाहको बजारीकरण गरी त्यस्ता सेवाहरुप्रति आम गाउँपालिकाबासीहरुको सहज पहुँच अभिवृद्धि गर्न र सेवा सुविधाको बारेमा नागरिकहरुमा सुसूचित गराउनका लागि वडाहरुमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिने, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको विवरणहरु अद्यावधिक गरी सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट रोक्नुका साथै बञ्तितीमा परेका वास्तविक व्यक्तिको पहिचान गरी लाभग्राहीमा समावेश गर्न सहजीकरण गरिने, साथै अपाङ्गगता भएका व्यक्ति, अशक्त वृद्धवृद्धा एवं जेष्ठ नागरिकहरुलाई बैंकसँग समन्वय गरी टोल वस्ती तथा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाईने योजनाहरु गाउँपालिकाले समेटेको छ ।
गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा गैर सरकारी संघसंस्थाबाट सम्पादन गरिने सेवा प्रवाह एवं कार्यहरुमा पारदर्शीता र जवाफदेहिता कायम गर्न नियमित रुपमा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरी समग्र सुशासन कायम गरिने, सबै वडाहरुमा सुविधा सम्पन्न वडा कार्यालय भवनको व्यवस्थापन गर्ने उद्देश्य अनुरुप संघीय तथा प्रादेशिक निकाय वा जिल्ला समन्वय समितिसँगको लागत साझेदारीमा स्रोत सुनिश्चित गरी वडा कार्यालयहरुको नयाँ प्रशासकीय भवन क्रमशः निर्माण गर्ने कार्यको प्रारम्भ गरिने, न्यायिक समितिबाट सम्पादन हुने कार्यमा मेलमिलाप पद्धतिलाई आबद्ध गरी थप प्रभावकारी बनाइने भएको छ ।
नेपालको संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय सरकारको एकल अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ द्वारा निर्दिष्ट अधिकारक्षेत्र बमोजिम गाउँपालिकाको समग्र सामाजिक, आर्थिक, भौतिक पूर्वाधार लगायत सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाको स्वीकृत दरबन्दी बमोजिम पदहरुमा प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी पदपूर्ति गरिने, गाउँपालिकाका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार एवं दैनिक सम्पादन गर्नुपर्ने कार्यहरुको प्रकृयागत, कानूनी र नीतिगत विषयका सन्दर्भमा थप ज्ञान प्रदान गर्न तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी एवं अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिने प्रस्तुत निती तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाहका गतिविधिको नागरिक समक्ष जानकारी गराउने, नागरिकका गुनासो सम्वोधन, पृष्ठपोषण प्राप्ति र सुधार एवं समग्र पारदर्शिता र जवाफदेहिता कायम गरी सुशासन प्रवर्द्धन गर्न समुद्ध कैलाश रेडियो कार्यक्रम सञ्चालन गरिने, गाउँपालिकाबासीहरुलाई समयमै कर तथा राजस्व तिर्ने बानीको विकास गर्नका लागि प्रचार, प्रसार तथा सन्देशमूलक सूचना सम्प्रेषण गरिने, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट एवं सहुलितको व्यवस्था गरिने लगाएतका योजनाहरु कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि समेटेकके छ ।