दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा, आयोजक वेस्ट इन्डिज बाहिरियो

बागमती संवाददाता
११ असार २०८१, सोमबार ११:३३

काठमाडौँ । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार सातौं जीत हो । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रोपटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी-२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो ।

आयोजक वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को आयोजक राष्ट्र अमेरिका पनि यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

१२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको थियो । पुन स् खेल शुरू हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिकालाई जित दिलाउन ट्रिस्टन स्टब्सले २९ रनको योगदान गरे । हेनरिच क्लासनले पनि टोलीको खातामा २२ रन थपे ।

कप्तान एडन मार्क्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बटुलेका थिए । मार्को यानसेनले टोलीका लागि अविजित २१ रनको योगदान गरे ।

क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले अर्धशतक बनाएका थिए । ओपनर कायल मायर्सले पनि ३५ रन बनाए ।

दक्षिण अफ्रिकाका बलर ताबरिज सामसीले तीन विकेट लिए । कागिसो राबडा, केशव महाराज, एडन मार्क्रम र मार्को यानसेनले पनि दक्षिण अफ्रिकाका लागि एक–एक विकेट हात पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*