चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

बागमती संवाददाता
३१ जेष्ठ २०८१, बिहीबार ११:५३

चितवन | कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ।

कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ।” साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए। कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ।

“गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उनले भने। उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए। अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताए। अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उनको भनाइ छ।

गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ। अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए।

जिल्ला कारागार चितवनमा हाल सात सय ३४ कैदीबन्दी छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना कैदीबन्दी छन्। उनीहरुसँग आश्रित दुई जना बालबालिकासमेत रहेको कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*