तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमण, ९ जनाको मृत्यु

बागमती संवाददाता
२८ जेष्ठ २०८१, सोमबार १०:४८

नयाँ दिल्ली– तीर्थयात्रीहरुले यात्रा गरिरहेको बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिलासहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

भारतको जम्मू–कश्मीरको रियासी जिल्लामा आइतवार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो । बसमा रहेका तीन महिलासहित नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पोनी क्षेत्रको तेर्याथ गाउँनजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*