‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै, हजारौँ बालबालिका लाभान्वित

बागमती संवाददाता
१४ जेष्ठ २०८१, सोमबार १४:१२

मकवानपुर । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं ४ । स्थानः श्री आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयको परिसर । घडीमा बिहानको ११ः४५ बज्यो । ११ः४५ हुनासाथ टिनीनीनी घण्टी बज्यो । यो मिनी हाल्फटाइमको समय हो ।

जेठको महिना, टन्टलापुर घाम अनि प्रचण्ड गर्मी । बिहानैदेखि उच्च तापक्रम । कक्षाकोठासँगै जोडिएको स्वास्थ्य कक्षमा विद्यालयकी नर्स करुणा श्रेष्ठ हुनुहुन्छ । विद्यालयका बालबालिकालाई स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा दिन उहाँलाई भ्याई नभ्याई नै छ । मिनी हाफटाइमको समय भएकाले पनि श्रेष्ठ झन व्यस्त हुनुहुन्छ । कक्षा ७ मा अध्ययन गर्ने छात्रा सवना थाकुन स्वास्थ्य कक्षमै हुन्छिन् । श्रेष्ठले उनलाई महिनावारी हुँदा प्रयोग गरिने सेनिटरी प्याड दिइरहनुभएको छ ।

स्वास्थ्य कक्षको चारवटै भित्तामा स्वास्थ्य शिक्षाका पोस्टर एवम् चित्रहरु टाँसिएका छन् । जंकफुड किन खानुहुँदैन ? जंकफुडले के असर गर्छ ? हात धुने तरिका, हरेक बार खाना ४, पोषिलो चटपटे लगायतका चेतनामुलक सामाग्रीहरु भित्ताभरी राखिएका छन्, टाँसिएका छन् । स्वास्थ्य कक्षमा पहिलोपटक प्रवेश गर्ने जो कोहीले कम्तीमा १० मिनेट लगाएर ती सबै कुराहरु पढ्ने गर्छन् । चाखलाग्दो ती सामाग्रीहरुले सबैलाई सचेत गराउँछ ।

सवनालाई सेनिटरी प्याड दिएको केही समयमै ४–५ जना छात्रहरु स्वास्थ्य कक्ष प्रवेश गर्छन् । कक्षा ६ मा अध्ययनरत रवीन कुमार वाइबालाई टाउको दुखेपछि उसका साथीहरुले त्यहाँ लिएर आएका रहेछन् । रवीनलाई भित्र ल्याउने बित्तिकै साथीहरुले भने, ‘ मिस, उसलाई टाउको दुख्यो रे ’, ‘ उसलाई यहाँ छाडिदेऊ, तिमीहरु क्लासमा जाऊ । घण्टी बज्ने बेला भयो । ’, श्रेष्ठले जवाफमा भन्नुभयो। त्यसपछि उहाँले रवीनलाई उनले टाउको दुखेको बेला खाने औषधि दिनुभयो । त्यही आराम गर्न लगाउनुभयो ।

कक्षा ७ मा अध्यनरत भविसा कोइराला र अनिष्मा घिमिरे नर्स श्रेष्ठ विद्यालयमा भएर आफुहरुलाई धेरै सहज भएको बताउँछन् । ‘मिस त धेरै फ्रेण्डलि हुनुहुन्छ । हामीलाई कहिलेकाहीँ सानोसानो कुराले पिरोल्दा, महिनावारी भएको बेलामा प्याड चाहिँदा हामी यहाँ आउछौ । मिसले हामीलाई धेरै कुरा सिकाउनु भएकै कारण हामीले पढाईमा मन लगाउन सकेका छौँ, र केहि समस्या पर्दा ढुक्कले यहाँ आउने गर्छाै’ । एकै स्वरमा दुवैले भने ।

यतिमात्र नभएर विद्यालयमा खोपहरु, विभिन्न भिटामिनका क्याप्सुल्सहरु, जुकाको औषधी लगाएतका स्वास्थ्य सुविधाहरु पनि विद्यार्थीले लिइरहेका छन् । यसरी स्वास्थ्य सम्बन्धि साना कार्यक्रमहरु विद्यालय नर्सको सहयोगमा विद्यालयमै सञ्चालन गरिदाँ सरकारको भर पर्नु परेको छैन । विद्यालयले आफनै समयअनुसार स्वास्थ्य शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्न पाएको छ ।

पहिला कुनै विद्यार्थीलाई गाह्रो हुँदा, विद्यालयबाट घर पठाइन्थ्यो । तर अहिले, सम्भव हुने औषधी,उपचार विद्यालयमै गरिन्छ । जसकारण विद्यार्थीले धेरै समय कक्षा छाड्नु परेको छैन ।

विद्यालयकि नर्स करुणा श्रेष्ठले विगत ६ वर्ष देखि यस विद्यालयमा विद्यार्थीहरुको हेरचाह गरिरहेको बताउनुभयो। विद्यालयमा दैनिकिजसो २० देखि २५ जना विद्यार्थीहरु सामान्य चोटपटक र समस्याहरु बोकेर विद्यालयकि नर्स श्रेष्ठलाई पछ्याउदै आउने गरेका छन् ।

‘विद्यार्थीहरु सामान्य चोटपटक अलावा मानसिक समस्याले पिरोलेर पनि यहाँ आउने गरेका छन् । अहिलेका बच्चाहरु सानो सानो कुरामा चिन्ता लिने, हात काट्ने, विष खान प्रयास गर्ने, आत्महत्या गर्ने सोच बनाउने, सानै उमेरमा प्रेममा परेर विविध समस्यामा रुमलिने गरेको मैले यो ६ वर्षको अनुभवमा पाएकी छु’ उहाँले भन्नुभयो ।

श्रेष्ठ भन्नुहुन्छ ‘विद्यार्थीहरु सानोसानो कुरा लिएर यहाँ आउने गर्छन् । यदि उनीहरुलाई मनोपरामर्श नदिने हो भने उनीहरु जुनसुकै हदसम्म जानसक्ने देखिएको छ । त्यसोत यहाँ म समक्ष विभिन्न समस्याहरु लिएर आउनेहरुलाई मैले धेरै कुराहरु बुझाएर पठाउने गरेको छु । यसरी आफुले उनीहरुको समस्या हल गरेर उनीहरुलाई तनावमुक्त बनाउन पाउँदा धेरै खुसी लाग्ने गर्छ ’ ।

विद्यार्थीहरु तातोपानी लिन, टाउँको दुखेर, लडेर चोटपटक लाग्दा, डायरिया हुँदा, महिनावारी भएको बेला पेट दुखेर लगाएतका कारणहरुले स्वास्थ्य कक्षमा आउने गर्छन । गर्मीका मौसम भएका कारण यस समयमा विद्यार्थीहरु अरु समयको तुलनामा अझ बिरामी हुने गरेको उहाँ बताउनुहुन्छ । यसरी विद्यालयमा सामान्य उपचार गर्दा पनि विद्यार्थीलाई सञ्चो नभएमा आवश्यक औषधी उपचार गर्न अभिभावकलाई खबर गरेर मात्र आवश्यक कदम चाल्ने गरिएको छ ।

नर्स श्रेष्ठका अनुसार विद्यालय नर्स कार्यक्रम सुरु भएपछि विद्यार्थीहरुले बाहिरका प्याकेटका खानेकुरा खान बन्द गरेका छन् । जङ्क फुडको पहिचान र असरबारे विद्यार्थीहरु सचेत भएका छन् । नर्स श्रेष्ठको अनुभवमा विद्यार्थीहरुको विश्वस्नीयताको पात्र अभिभावक पछि शिक्षक हुनेगर्छ । यसरी विद्यार्थीहरुले शिक्षकलाई चाडो विश्वास गर्नेहुँदा उनीहरुलाई परामर्श दिन, उनीहरुलाई गुणस्तर शिक्षाका लागि प्रोत्साहन गर्न ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अत्यन्तै प्रभावकारी छ ।

यता विद्यालयका प्रिन्सिपल राम सागर गुरागाईले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सामाजिक विकास मन्त्रालयले लागू गरे लगत्तै उक्त विद्यालय छनौटमा परेपछि विद्यालयका विद्यार्थीहरुले विद्यालयबाटै निरन्तर स्वास्थ्य सेवा लिइरहेको बताएका छन् ।

‘यस कार्यक्रमले विशेष गरेर विद्यालयका कक्षा ८,९, १० र महिनावारी हुने छात्राहरु बढी लाभान्वित भएका छन् । जसले विद्यार्थी मात्र नभएर अभिभावकहरुले पनि विद्यार्थीको स्वास्थ्यप्रति निश्चित भएर विद्यालय पठाउन पाउनुभएको छ ।’ उनले भने ।

साथै विद्यार्थीहरुको नियमित उपस्थितिलाई पनि यस कार्यक्रमले बढावा दिएको उनी बताउछन् । ‘यो कार्यक्रम एकदमै उपलब्धिमुलक छ । सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशका हरेक माध्यमिक तहका विद्यालयहरुमा यो कार्यक्रम लागू गरी हरेक वर्ष स्वास्थ्य सामाग्रीहरु थप गरिदिनुपर्छ’ उनले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको यस विद्यालयमा झण्डै २ हजार ६ सय जना विद्यार्थीहरु पढ्न आउने गर्छन्। यसरी विद्यालयमा स्वास्थ्यसेवाको पहुँच पुगेपछि विद्यालय परिवार हर्षित देखिएको छ भने विद्यालयको उपलब्धिमा सघाउ समेत पुगेको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा अवस्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालय, भीमफेदि गाउँपालिकाको श्री राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडामा रहेको श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, बालज्योति माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु भएको छ ।

यस्तो छ ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको विकासक्रम

‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रदेश नं. ३ बागमती प्रदेश सरकारले सुरुवात गरेको कार्यक्रम हो । एक विद्यालय एक नर्स कार्यक्रम विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खाने तथा स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै समग्र स्वास्थ्य, सरसफाई र पोषण प्रर्वद्धन, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यको सुधारको आवश्यक्ताको महशुस गर्दै, विद्यालय तहमा स्वास्थ्य सेवाको पहुच पुर्र्‍याइ विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार साथै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आर्थिक वर्ष २०७५ /०७६ को वार्षिक निति तथा कार्यक्रम र बजेट बमोजिम एक विद्यालय एक नर्स कार्यक्रमलाई सञ्चालन गर्न आवश्यक भएकाले प्रदेश सरकार मन्त्रीपरिषदले यो कार्यविधि बनाएको हो । जसका लागि सोहि वर्ष ४० लाख रुपैँया बजेट छुट्याईएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा विद्यालय नर्स कार्यक्रम लागु भएका जिल्लाहरु रसुवा, सिन्धुली, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापमा १, वटा त्यस्तै सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं प्रत्येकमा २/
२ वटा विद्यालयहरुमा नर्स सेवा सञ्चालन गरिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा प्रत्येक जिल्लामा विद्यालय नर्स संख्या बढाएर बागमती प्रदेशका १३ जिल्लामा १ सय १९ स्थानीय तहहरुको १ सय २१ वटा विद्यालयहरुमा नर्स संख्या थप गरिएको थियो । जसमा सिन्धुलीमा ९, मकवानपुरमा १०, चितवनमा ८, काभ्रेपलाञ्चोकमा १३, भक्तपुरमा ४, काठमाडौंमा ११, ललितपुरमा ७, नुवाकोटमा १२, धादिङमा १३, सिन्धुपाल्चोक १२, दोलखा ९, रामेछाप ८, रसुवामा ५ वटा विद्यालयमा नर्स सेवा विस्तार गरेर अघि बढाएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशका विभिन्न जिल्लाहरुका ३ सय ३८ वटा विद्यालयहरुमा नर्स सेवा विस्तार गरिएको थियो । जसमा सबैभन्दा धेरै काठमाडौं र सबैभन्दा कम रसुवा जिल्लाका विद्यालयहरुमा सेवा विस्तार भएको पाईन्छ ।
आर्थिक वर्ष २०७८/०७९ मा यो सेवालाई विस्तार गरेर थप १ सय वटा विद्यालयहरुमा सेवा विस्तार गरिदा आर्थिक वर्ष २०७९/०८० मा संख्या घटेर ६० वटा विद्यालयहरुमा नर्स सेवा थप गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा नर्स संख्यालाई अघिल्ला वर्षहरुको तुलनामा तिव्र वृद्धि गरेर ३ सय २९ वटा बनाउने योजना राखेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।

विद्यालय नर्सले प्रर्वद्धनात्मक सेवा, प्रतिकारात्मक सेवा, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार, परामर्श सेवा र प्रेषण सेवा लगाएतका कामहरु गर्दै आईरहेको छ ।

विद्यालय नर्स सेवा सुरु भएपछिका चुनौतीहरु यथावत रहिआएको स्वास्थ्य निर्देशनानयले हेटौंडाले जनाएको छ । जस अन्तरगत दुर्गम स्थानीय तहका विद्यालयमा आवेदन नपर्ने, विद्यालयमा जागिर खाएपछि छोड्नेको संख्यामा वृद्धि भईरहेको, विद्यालयहरुले विषयगत शिक्षकको कार्यहरु समेत गर्न लगाउने, बजेट उपलब्ध गराइएतापनि केहि स्थानीय तहहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्था नगरिएको समस्याहरु देखिएका छन् ।

त्यस्तै सेवा कक्ष र सामाग्रीहरुको थप व्यवस्थापन, केहि विद्यालयहरुमा विद्यार्थीहरुको संख्या अधिक मात्रामा हुँदा व्यवस्थापनमा चुनौति देखिएको, प्रदेश स्थानीय तह र विद्यालयहरु बिचमा समन्वयनमा कमि आएको, अनुगमन मुल्याङ्कन र स्रोत व्यवस्थापनमा असहजता जस्ता विभिन्न खाले चुनौतिहरु यस कार्यक्रममा देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रमले रोजगारीको अवसर

एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशबाट सुरु भएको कार्यक्रम हो । यस वर्ष ३ सय १९ वटा विद्यालयमा नर्स सेवा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयको लक्ष्य अनसार बागमती प्रदेशमा लगभग ९ सय जना नर्सहरुले रोजगारीको अवसर पाउने देखिएको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने एक जना नर्सले ६० जना विद्यार्थी हेनुपर्ने हुन्छ । तर नेपालमा भने केहि वर्ष अघि मात्र यस कार्यक्रमको थालनी भएको हुँदा अभ्यासकै क्रममा रहेकाले तत्काल सम्भव देखिएको छैन ।

यस कार्यक्रमको अर्काे समस्या भनेको भौगोलिक विकटता रहेको छ । प्रत्येक जिल्लाहरुमा बजारको तुलनामा बजार भन्दा केहि परका विकट क्षेत्रहरुमा नर्सहरु टिकाउ नहुने देखिएको छ । सुगम क्षेत्रको तुलनामा दुर्गममा जागिर खान चाहनेको संख्या निकै न्युन रहेको छ । प्रदेशका अधिकाशं जिल्लाको विकट क्षेत्रमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयनमा लेराउन अर्काे चुनौतीपूर्ण कुरा रहेको देखिएको छ ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रमले परिवार र समुदायमा परेको प्रभाव

‘एक विद्यालय एक नर्स’ कार्यक्रमले विद्यालयमा मात्र नभई परिवार र समुदायमा पनि राम्रो प्रभाव पर्न गएको देखिएको छ । विद्यार्थीहरुले नर्स शिक्षिका बाट सिकेका स्वास्थ्य सम्बन्धि कुराहरुलाई घरका परिवारसँग पनि साटासाट गर्ने गरेको पाईएको छ ।

यौन तथा प्रजननका समस्याहरु विद्यार्थीहरुले विद्यालय हाता भित्रैबाट सिकेका छन् । आफुभन्दा साना भाई बहिनीहरुलाई आफुले पार गरिसकेका स्वास्थ्य समस्याहरुबारे समयमै सचेत गराउने र समस्या निदानमा सघाउ पुर्‍याउन ठुलो भूमिका बाध्ने गरेका छन् ।

यसरी आफनो मनमा लागेका चिन्तन्हरु, आफुले नबुझेका शारीरिक परिवर्तन, सामान्य खालका स्वास्थ्य हेरचाह विद्यालयमा समयमै सिक्ने हुनाले एउटा विद्यार्थीले परिवार हुदै सिङ्गो समाजमा कुनै न कुनै तबरले ज्ञान बाडिरहेको देख्न सकिन्छ । उनीहरु आफनो मात्र नभई पारिवारिक स्वास्थ्य समस्याहरुपनि जिज्ञासाका रुपमा नर्स शिक्षिका समक्ष बोकेर आउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*